- मोहनकुमार राई
चैनपुर । जिल्लाको चैनपुर नगरपालिकास्थित पोखरी बजारमा रहेको शारदा माध्यमिक विद्यालयले समाजसेवी दाता राजेन्द्रबहादुर तथा अम्बिका खत्रीलाई सोमबार भव्य स्वागत तथा सम्मान गरेको छ ।
विद्यालयको जस्तापाताबाट निर्मित गेटलाई हटाएर भक्तपुरे डाँछी ईटा बुट्टा सहितको कलात्मक शैलीमा आशाखत्री प्रवेशद्वार निर्माण गरिदिने राजेन्दबहादुर÷अम्बिका खत्री ट्रष्टका संस्थापक राजेन्द्र खत्रीलाई विद्यालयले भब्य स्वागत तथा सम्मान गरेको हो । गेटको उद्घाटनसँगै दाताहरुलाई नौमती पञ्चेबाजाका साथ पोखरी बजार परिक्रमा समेत गराएको विद्यालयका सहायक प्रधानध्यापक रामकुमार लिम्बूले बताए ।
दाताले कुल १० लाख १८ हजार ४ सय ७ रुपैया र २५ पैसा खर्चेर प्रवेशद्वार निर्माण गरेको विद्यालयका प्रधानध्यापक अमृतबहादुर कार्कीले बताए । सोमबार विद्यालयद्धारा गरिएको दातालाई स्वागत तथा सम्मान कार्यक्रममा बोधिजाग्रीत नौमति वाद्यवादक महिला समूहद्वारा पञ्चेबाजाका साथ दातालाई भव्य स्वागत गरिएको थियो ।
वि.सं. १७९५ सालतिर काभ्रे जिल्लाको मङगलटारमा जन्मभई आफ्ना पाँच भाई सहित विक्रम सम्बत १८२६ तिर चैनपुरको सिद्धिपुरमा आई बसोबास गरेका वि.स.१८४८ सालको भोट, सिक्किमका सेना र स्थानीय विद्रोही सहितका फौजसँग गोरखा सेनाको घमासान युद्धमा सहासका साथ लडेका गोरखा सेनाका सुवेदार आशा खत्रीका छैटौ पिढीका कृष्णबहादुर र मानकुमारीका काइला छोराले स्थापना गरेको राजेन्द्रबहादुर÷अम्बिका खत्री ट्रष्ट निजीद्वारा विद्यालयको मूल प्रवेशद्धार निर्माण गरेका हुन । गेट प्रवेशद्वार निर्माण पुरा भएपछि ट्रष्टका उत्तराधिकारी सुयोग खत्रीबाट एक कार्यक्रमवीच विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
सोमबार भएको उक्त सम्मान कार्यक्रममा प्रधानध्यापक अमृतबहादुर कार्कीले विद्यालयको गेट निर्माणको लागि धेरै ठाउँ भौतारिए पनि बजेट अभाव भइरहँदा यस्तो अवस्थामा प्रवेशद्वार निर्माण गरिदिएकोमा विद्यालयलाई ठूलो सहयोग पुगेको वताउदै विद्यालय परिवारबाट हार्दिक धन्यवाद व्यक्त गरेका थिए । उनले गेट निर्माणमा सहयोग पु¥याउने शिक्षाप्रेमी व्यक्तित्वहरुलाई समेत आभार प्रकट गर्दै समाजसेवी एवं शिक्षाप्रेमी ज्ञानबहादुर कार्कीले पनि यस विषयमा धेरै पहलकदमी गरेको बताए ।

शिक्षाप्रेमी कुमारबाबु अधिकारी, चैनपुर नगरपालिका पूर्व नगरप्रमुख भरतकुमार खत्री, वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, वडा नं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बू लगायतले दाताको सम्मान साथै आभार प्रकट गरेका थिए ।
खत्रीले यहाँ मात्र होइन संखुवासभा बहुमुखी क्याम्पसमा मञ्च निर्माण, चैनपुर नगरपालिकाका विभिन्न विद्यालय तथा क्याम्पसमा विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गर्दै आएको छ ।